Post

“धर्मो रक्षति रक्षितः ” अर्थात् धर्मको रक्षा गरेमा त्यसले हाम्रो रक्षा गर्छ । धर्मको रक्षाले मानव समाजमात्रै नभइ समग्र प्राणी जगतको नै रक्षा हुन्छ; तर पछिल्लो समय विडम्बना नै भन्नुपर्छ, धर्मका नाममा अनेक प्रकारका असभ्य र अराजक गतिविधिहरु समेत नियोजित रूपमा देखापर्न थालेका छन् । आफ्नो प्रचारप्रसारका लागि करोडौं मानवहरुको आस्थालाइ नजरअन्दाज गर्ने पद्धतिको बिकास हुँदै आउनु निश्चित रूपमा राम्रो संकेत होइन।

कुनै पनि धर्म कुनै पनि प्राणीको लागि बोझ बन्नु हुँदैन बरु शिष्ट, सौम्य र हितकारी बन्नुमा नै सबैको कल्याण हुन्छ। आज धार्मिकताको अर्थ असहिष्णुता, कट्टरता, अर्काको सांस्कृतिक आस्थाहरूलाई शत्रुतापूर्ण व्यबहार गर्ने समुदायका रूपमा विकसित हुँदै आउनु असाध्यै दुःखद् पक्ष हो
वैदिक ऋषिमुनिहरूले धर्मशब्दको अर्थ र प्रयोजन सद्गुण, सदआचरण तथा असलगुणका रूपमा बुझ्ने र त्यसैअनुसार कर्म गर्न अभिप्रेरित गरेका हुन् । जसरी वेदको अर्थ ज्ञान हो त्यसैगरी धर्म शब्दको अर्थ सदाचार हो । सदाचारी व्यक्ति नै धार्मिक हुन् । धार्मिक ती हुन् जसले विश्वलाई आफ्नै कुटुम्ब ठानेर व्यबहार गर्छ । मन्दिर भत्काउनेहरू, धर्मपरिवर्तन गराउनेहरू, हिंसा गर्नेहरू, अर्काको जीवन नाश गर्नेहरू कसरी धार्मिक हुनसक्छन् ? किनभने यी सबै अधर्मका लक्षण हुन् । गुटका विश्वास हुन् जसले आफूबाहेक अरुको अस्तित्वलाई स्वीकार गर्न पटक्कै रुचाउँदैनन् ।
यहाँ धर्म रक्षाको अर्थ हो सदाचार, सद्गुण, दैविसम्पदाको रक्षा । यदि हामीले दया गर्छौं भने हामीलाई अर्कोले पनि दया गर्छ अर्थात् धर्मले धर्मको रक्षा हुन्छ । यदि कसैले क्षमा दिन्छ भने उसले पनि उत्तरमा दया नै प्राप्त गर्छ । यदि कसैले दान दिन्छ भने वदलामा उसले पनि दाननै प्राप्त गर्छ । यदि कसैले कसैको जीवन रक्षा गर्छ भने उसले पनि जीवनदान प्राप्त गर्छ । यदि कसैले विनम्रतापूर्ण व्यबहार गर्छ भने उसले पनि विनम्रता नै प्राप्त गर्छ । शत्रुता गर्नेले शत्रुता, घृणा गर्नेले घृणा, ठगी गर्नेले ठगी, धोका दिनेले धोका र विश्वासघात गर्नेले विश्वासघात नै गर्छ। अधर्मले अधर्मको वृद्धि हुन्छ, धर्म (सद्गुण)ले धार्मिकताको वृद्धि हुन्छ ।

हिन्दु धर्म मानव धर्मकै पर्याय भएकाले अर्थात् समस्त मानवमात्रलाई समेटिएको दर्शन र सिद्धान्त भएकोले नै यसको स्वरूप यस्तै हुन्छ भनेर किटान गर्न पनि सकिँदैन र आजसम्म कसैले सकेका पनि छैनन् । तर, अन्य धर्म व्यक्तिविशेष, ग्रन्थविशेष र पद्धतिविशेषमा बाँधिएकोले एवं विशेष समय र परिस्थितिबाट सृजित भएकाले अन्यलाई धर्म नभनि सम्प्रदाय हुन् भन्दा ज्यादा युक्तिसंगत देखिन्छ ।हिन्दू धर्म नै यस्तो धर्म हो जसले पृथ्वीमा भएका सबै सजीव एवम् निर्जिव चिज, सबै देवत्व हुन् भनि सम्मान गर्न सिकाएको छ। जस्तै : शाल्रि्राम, वृक्ष, गाईपूजा, कागपूजा तथा अतिथि देवोभवः, मातृदेव भवः पितृदेव भवः आचार्यदेव भवः जस्ता मान्यतालाई स्वीकार गर्दछ। हिन्दूधर्मको महान् ग्रन्थ गीताले हामीलाई कर्म गर फलको आशा नगर भन्ने कुरा सिकाएको छ भने वेदले आफू जस्तै अरूलाई पनि सोच, जुन वचन र कर्म तिमीलाई मन पर्दैन त्यो अरूलाई प्रयोग नगर भन्ने कुरा सिकाएको छ।

“धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ⁠। तस्माद् धर्मं न त्यजामि मा नो धर्मो हतोऽवधीत् ⁠।⁠।”-महाभारत

अर्थात्- धर्म त्याग गर्ने आफैं नष्ट हुन्छ। र जसले यसलाई जोगाउँछ उसले आफैलाई सुरक्षित राख्छ। त्यसैले म पुण्यको त्याग गर्दिन, यदि नष्ट भयो भने, यसले हामीलाई नष्ट गर्छ। धार्मिकताको वृद्धि भनेकै संसार अझै सुरक्षित, सुन्दर र सभ्य हुनु हो । त्यसैले हरेक व्यक्तिले असलगुणहरूको बडो तत्परताका साथ पालन गर्नुपर्छ र ती गुणहरूलाई एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण पनि गर्दै जानु हितकर हुन्छ । त्यसैले माताको सम्मान गर्न, पिताको आज्ञाकारी बन, अतिथिको सत्कार गर्न गुरूको सम्मान गर जस्ता आदेशहरूको पालन गर्नेले गुरुका रूपमा, पिताका रूपमा, माताका रूपमा,अतिथिका रूपमा, पतिका रूपमा, पत्नीका रूपमा पुनः प्रत्युत्तर प्राप्त गर्छ । सद्गुणहरूको पालना नगर्नेले सद्गुणहरूको पुस्तान्तरण पनि गर्न सक्दैन र समाजमा विद्वेष मात्रै फैलाउँछ । हिन्दू धर्मका विषयमा अहिले धेरै भ्रम छर्ने काम भइरहेको पाइन्छ । आफूलाई सत्य साबित गर्न चेष्टा गर्ने तत्वहरूबाट त्यसरी फैलाइएको भ्रान्तिले सीधासादा सर्वसाधारणहरू भ्रमित बनिरहेको अवस्था छ । जुन व्यक्तिले वेद, उपनिषद एवं गीतालाई राम्ररी मनन गरेर पढेको छैन र समाजमा प्रचलित धारणा वा सुन्ने सुनाउने क्रममा चलिआएका धर्मइतरका तर धार्मिकजस्ता लाग्ने भ्रमपूर्ण कुराहरूमा विश्वास गर्छ त्यस्तालाई मात्र प्रायोजित भ्रमले दिग्भ्रमित तुल्याउन सक्छ ।

हिन्दूमा जस्तो वैचारिक स्वतन्त्रता अन्य कुनै धर्ममा छैन । यसमा व्यक्तिको रुचि, स्वभाव, मनोविज्ञान, विचार, झुकावअनुसारको धार्मिक पद्धति वा मत अपनाउन सकिन्छ । हिन्दू धर्ममा अनेकौं देवी देवताहरु भए पनि ती सबै एकै परमात्माका विविध स्वरुप मात्र हुन् । वेदले भन्छ, आखिर परमात्मा वा ईश्वर एउटै छ र त्यो हामीभित्रै छ । विभिन्न मठ—मन्दिर तथा देवी, देवताहरुको पूजा, उपासना केवल सांकेतिक मात्र हो, वास्तविक ईश्वर त हृदयभित्र छ र आत्मज्ञान वा आत्मपहिचान नै वास्तविक ईश्वर उपासना हो, वेदले भन्छ । सबैलाई आ-आफ्नो कुल परम्परा अनुसारको संस्कार मान्ने व्यक्तिगत स्वतन्त्रता छ; यसमा कसैको आपत्ति रहनुहुदैन तर आफुले गरेको कार्यले अरुको आस्थामाथि प्रहार गर्‍यो भने त्यसले धर्मको आवरणमा अधर्म गरेको पुष्टि हुन्छ। सबैले आ-आफ्नो कूलधर्ममा विश्वास गर्दै अघि बढ्दा शान्तिको महशुस गर्दछन् । कूलधर्म मूल्य मान्यता आस्था आदर्श र व्यवहारको समष्टि पनि हो। आफूलाई परधर्ममा बेच्नु भनेको आत्माघात पनि हो परिवार, समाज,समुदाय र राष्ट्रघात पनि हो। कूलधर्म भनेको आफ्नोपन र शुद्ध मन हो। कूलधर्म छोड्नु भनेको आफूलाई र सबैलाई धोखा दिनु हो, विश्वासघात र बेइमान गर्नु हो। यसबाट कसैको कल्याण नहुने ठोकुवा गर्न सकिन्छ ।

धार्मिक सहिष्णुताले मान्यता र चेतनालाई जनाउँदछ कि सबै मानिसहरु लाई बिभिन्न तरिकाले सोच्न र बिभिन्न विश्वासहरु दावी गर्न वा पूर्ण रुपमा धार्मिक विश्वास त्याग्न अधिकार छ; यी सबैले यो पनि बुझ्दछन कि सबै विश्वासहरू समान रूपमा मान्य र सम्माननीय छन्, तर त्यसो भन्दैमा अरुको आस्था र विश्वासमाथि नै असर पर्ने गरि गतिविधि सन्चालन गरिनु त्यत्तिकै निन्दनीय पनि छ । त्यसकारण, धार्मिक सहिष्णुता समाजमा जीवनको लागि आवश्यक छ। धार्मिक सहिष्णुताको अर्थ यो हो कि कसैलाई पनि आफ्नो विश्वासहरू अरूमाथि लाद्ने अधिकार छैन । यस कारणले कसैलाई पनि धार्मिक प्रकृतिको मामिलामा अर्को व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न वा जबरजस्ती गर्ने अधिकार छैन किनकि धार्मिक सहिष्णुताले पनि अरूको मान, विश्वास र अरूको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ ।

गीताको अन्तिम श्लोकमा “यतो धर्मः ततो जयः”अर्थात् जहाँ धर्म हुन्छ त्यहाँ विजय हुन्छ“ भनेर धर्म रक्षाको निष्कर्ष प्रस्तुत गरिएको छ । धर्म समस्त प्राणीको लागि हितकारी, कल्याणकारी अनि सहिष्णुताको भावनाबाट प्रेरित हुनुपर्छ नकि आडम्बर र अशिष्टको पराकाष्ठाबाट । अस्तु ।